काठमाडौं। अहिले पनि कतिपय मानिसका लागि महिलाले गर्ने घरको कामको कुनै महत्व छैन। घरमा दिनरात काम गर्दा पनि त्यसको कुनै मूल्य नदिँदा महिला थप हेपिन पुगेका छन्। तर, महिलाले घरको काम गर्नका निम्ति आफ्नो करिअर, अवसरलगायत सारा कुरा त्यागेका हुन्छन्। यति भएर पनि त्यो त्यागको यथोचित तलब किन तोकिँदैन? अहिले यही विषयमा बहस हुन थालेको छ। नारी दिवसको छेको पारेर बाक्लिएको यस्तो बहसले एउटा निष्कर्ष पाउनु जरुरी छ।

छिमेकी चीनको अदालतले हालै पारपाचुकसँग जोडिएको घटनामा ऐतिहासिक फैसला सुनाएको छ। अदालतले एक पुरुषलाई निर्देशन के दिएको छ भने, पाँच वर्षसम्म साथै बसेकी महिलालाई उनले गरेको घरेलु कामको ज्याला अनिवार्य रुपमा दिनुपर्छ। सोही घटनामा महिलालाई करिब नौ लाख रुपैयाँ दिनुपरेको थियो।

चिनियाँ अदालतको उक्त फैसलाबारे संसारभर बहस जन्मियो। चिनियाँ सोसल नेटवर्किङ साइटमा त्यो फैसलाबारे मानिसहरुका मतभिन्नता प्रकट भए। तर, अदालतको निर्णयले धेरै मानिसको समर्थन बटुल्न सफलता पायो।

यस्ता विषयमा नेपालमा बहस उतिसारो बाक्लिएको देखिँदैन। तर, अर्को छिमेकी भारतको सर्वोच्च अदालतले जनवरी महिनामा गरेको फैसला पनि मननीय देखिन्छ। ‘‘घरको कामले परिवारको आर्थिक अवस्थामा वास्तविक रुपमै योगदान गरेको हुन्छ। र, यसले राष्ट्रको अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेको हुन्छ,’’ अदालतले भनेको थियो। भारतीय अदालतले यसअघि नै महिलाद्वारा गरिने ‘घरको काम’लाई आर्थिक गतिविधिका रुपमा स्वीकृति दिइसकेको छ। चीन र भारतका साथै पश्चिमी देशका अदालतले पटकपटक महिलाले गर्ने घरेलु कामको ‘अवैतनिक श्रम’लाई आर्थिक उत्पादनसँग जोडिनुपर्ने फैसला दिँदै आएका छन्।

तर पनि घरको कामलाई जीडीपीमा योगदानका रुपमा हेरिएको पाइँदैन। हाम्रो समाजको बुझाइ यस्तो छ कि, त्यसले बाहिरतिर कार्यालय जाने वा कुनै व्यवसाय गर्‍यो भने मात्रै महत्व दिन्छ, घरको कामको कुनै गणना नै गर्दैन। यही अवस्थामा प्रश्न उठ्छ– यदि महिलाले घरको काम केही पनि नगरी जागिर या व्यवसाय गर्न थाले भने अवस्था के होला?

संसारका अधिकांश महिला यही प्रश्नको उत्तर खोजिरहेका छन्। एक गृहिणीका रुपमा उनीहरुले गर्ने घरको कामलाई किन सम्मान दिइँदैन? किन पुरुषले गर्ने कामको मात्रै महत्व देखिन्छ? जबकि, पुरुषले बाहिर गएर गर्ने कामभन्दा महिलाले घरमा गर्ने कामको अवधि कयौं गुना बढी हुन्छ।

उसै पनि घरको काम सहज छैन। बच्चालाई समयमा खुवाउने, स्कुल पठाउने मात्र होइन, जेष्ठ सदस्यलाई औषधि दिनेसमेत एउटा निश्चित समय हुन्छ। त्यसमा तल–माथि पर्नु पटक्कै हुँदैन। घरका कोठाभान्सा सफा गर्नु, आँगनछत सिनित्त पार्नु, लुगा धुनु, पाहुना खुसी पार्नु…अझै थुप्रै छन् जिम्मेवारी गृहिणी महिलाका!

सबैभन्दा दुःखको कुरा त महिलाले गर्दै आएका यी सारा काममा सहयोगी हात प्रायः उपलब्ध हुँदैनन्। यस्तो लाग्छ, त्यो जिम्मेवारी महिलाको मात्रै हो। घरको काम गर्ने महिलाले सधैं पुरुषको भन्दा बढी काम गर्दै आएका छन्।

हामीले सूक्ष्म दृष्टिले हेर्ने हो भने, हरेक कामको महत्व हुन्छ। तर, महिलाको कामको महत्व नदेख्ने समाजको आँखालाई के भन्ने? कुनै पनि कामको मौद्रिक महत्व निकाल्न सक्ने हो भने गृहिणी महिलाको कामले सधैं जित्ने निश्चित छ।

अन्तर्राष्ट्रिय संस्था अक्सफामले हालै गरेको एक अध्ययनअनुसार, महिलाले गर्ने घरको कामको मूल्य अर्थतन्त्रको तीन प्रतिशतभन्दा बढी नै हुन्छ। भारतका साथै नेपालमा पनि यो अध्ययनको निष्कर्ष व्यावहारिक र तथ्यपूर्ण देखिन्छ। २०१९ मा गरिएको अर्को एक अध्ययनले महिलाले गर्ने घरको कामको मूल्य १० ट्रिलियन अमेरिकी डलरभन्दा बढी छ। यति हुँदाहुँदै पनि पटकपटक अदालतले महिलाले गर्ने घरको कामको महत्व दर्शाउँदै फैसला गर्नुपरेको छ।

महिलाको योगदान अमूल्य

बुझ्ने भाषामा भन्नुपर्दा, एक महिलाले आफ्नो पतिको कपडा घुने, आइरन लगाउने र खानपान गराउने तथा स्वास्थ्यअवस्थाको हेरविचार गर्छन्। यति गरेपछि पतिलाई कार्यालय वा व्यवसायमा गएर काम गर्न स्फूर्ति मिल्छ। अर्को जिम्मेवारी, बच्चालाई पढाउने। त्यसपछि परिवारका जेष्ठ सदस्यको स्वास्थ्यको हेरचाह तथा खानपानमा ध्यान दिने जिम्मा पनि गृहिणीकै हुन्छ। यी कामहरुको मूल्य कति होला? उत्तर यही हो– भावनात्मक रुपमा गरिने यी कार्यको कुनै मूल्य छैन, यी अमूल्य काम हुन्।

महिलाद्वारा गरिने यी कामहरुको मौद्रिक गणना नगर्ने र महत्व पनि नदिने समाजलाई एउटा प्रश्न गर्न सकिन्छ– यदि महिलाले यी सबै काम गरिदिएनन् भने त्यसका निम्ति कति खर्च होला? बच्चालाई बाल कल्याण सेवा वा केयर सेन्टरमा राख्नुपर्‍यो, जेष्ठ सदस्यलाई वृद्धाश्रममा। अनि जागिर वा व्यवसाय गर्ने पुरुषको हेरचाहचाहिँ कसले गर्ने? जसरी यो अन्तिम वाक्यमा रहेको प्रश्नको उत्तर समाजसँग छैन उसैगरी जेष्ठ नागरिक र बच्चामा हुने खर्चबारे पनि अनुमान छैन।

नेपालको अवस्था त झनै अप्ठेरो छ। धनी तथा विकसित मुलुकहरुमा जेष्ठ नागरिकको जिम्मा सरकारले लिएको हुन्छ। बच्चाहरुको पठनपाठन र शिक्षाको जिम्मा पनि सरकारकै हुन्छ। बेरोजगारी नागरिकलाई भत्ता पनि सरकारले दिन्छ। तर, नेपालको हकमा यी कुनै पनि कामको जिम्मा सरकारले लिएको छैन। सरकारले गनुपर्ने काम हरेक गृहिणीले गर्दै आएका छन्। यो अवस्थामा हामीले गृहिणीको कामको कुनै महत्व नदेख्नु वा त्यसको मूल्य नदिनु अन्याय हो। महिलाले यी काम बन्द गरिदिने हो भने ‘सिस्टम’ नै ठप्प हुन पुग्छ।

महिलाले गर्ने हरेक कामलाई ‘उत्पादन’का रुपमा हेरिनुपर्ने विश्लेषक–विद्वान्हरुको मत छ। लुगा धुनु, बजार गएर सामान किनेर ल्याउनु, खाना बनाउनु, बच्चा र जेष्ठ सदस्यको हेरचाह गर्नुलगायतका सबै काम सेवा हुन् र ती उत्पादन हुन्। यी कामहरुले देशको अर्थतन्त्रमा अप्रत्यक्ष ठूलो योगदान पु¥याइरहेका हुन्छन्। प्रमुख कुरो त के हो भने, यदि महिलाले यी जिम्मेवारी निर्वाह गर्न बन्द गरिदिने हो भने ‘परिवार’ नामको संस्थाको अन्त्य हुनेछ। (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय