कोरोना महामारीका कारण अहिले नेपाल आक्रान्त छ । देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी छ । अस्पतालमा अक्सिजन अभावका कारण धेरै बिरामीहरूले ज्यान गुमाइरहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेकाले अक्सिजन अभाव भइरहेको अस्पलालहरुको भनाइ छ ।

मानिसको शरीरमा अक्सिजनको तह कति हुनुपर्छ ?

संक्रामक रोग विशेषज्ञ डा.अनूप सुवेदीका अनुसार कोरोना भाइरसको सङ्क्रमण जटिल चरणमा जाँदा अक्सिजन कम हुन्छ । अक्सिजन कम हुँदा निश्चित उपचार शुरु गर्नुपर्ने हुन्छ।

‘त्यसै कारण कोरोना भाइरस पोजेटिभ हुनेबित्तिकै हामी बिरामीलाई शरीरमा अक्सिजनको तह नाप्न सिकाउँछौँ,’उनले भने।

सामान्यतया पल्स अक्सिमिटर भन्ने उपकरणले अक्सिजन नाप्दा तह ९५ देखि ९६ हुन्छ। समुद्री सतहबाट काठमाडौंको उचाइ बढी भएकाले अक्सिजनको तह ९६-९७ भन्दा प्रायः बढी नहुने उनी बताउँछन्।

‘तर धेरै मोटा मान्छेहरू अथवा फोक्सोको, दमको रोग भएका मान्छेहरूमा पहिले नै अक्सिजनको मात्रा पल्स अक्सिमिटरले कम देखाउन सक्छ। उहाँहरूका लागि सामान्य अङ्कनै ९२-९३ हुन सक्छ। कसैको ९० मात्र पनि हुन सक्छ,’ उनले भने।

अरू कुनै स्वास्थ्य समस्या नभएका मान्छेमा कोरोनाभाइरस सङ्क्रमण देखिएको अवस्थामा अक्सिजनको मात्रा घटेर ९२ वा त्यो भन्दा कम भए अस्पताल जान र उपचार गराउन डा. सुवेदी सुझाउँछन्।

अक्सिजनको तह कति बेला हेर्ने ?

सामान्यतया कोरोनाभाइरसको लक्षण शुरु भएको करिब एक सातापछि मात्रै अक्सिजनको तह कम हुँदै जाने डा.सुवेदी बताउँछन्।

आफूलाई कहिलेबाट लक्षण शुरु भएको हो भन्ने कुरा थाहा पाएको अवस्थामा हरेक दिन वा छिन छिनमा अक्सिजन नापिरहनु नपर्ने उनको भनाइ छ।

‘हामी दिनमा दुई-तीन पटक नाप्न सुझाउँछौँ ,’ उनले भने। सामान्य अवस्थामा अक्सिजन ९५-९६ भएको व्यक्तिमा ९३ तिर देखियो वा घट्न थालेको सङ्केत देखियो भने चारदेखि पाँच घण्टामा नाप्नुपर्ने उनको सुझाव छ।

अक्सिजन कम भए अस्पताल जानैपर्छ ?

कोरोना भाइरस महामारी चलिरहेको भएपनि अत्यावश्यक नभएसम्म अस्पताल नजान चिकित्सकहरूले सुझाइरहेका छन्।

चाप धेरै भएकाले सामान्य अवस्थाका कोभिड बिरामी समेत घरमै बसिरहेको विवरणहरू आइरहेका छन्। तर अक्सिजनको तह कम हुन लागेको अवस्थामा भने अस्पतालमै जानुपर्ने डा.सुवेदीको सुझाव छ।

‘घरमा बसेर अस्पतालमा दिन सकिने निश्चित उपचार दिन मिल्दैन। अर्को कुरा त्यो अवस्थामा पुगेपछि बिरामीलाई निगरानीमा राख्नुपर्छ र अक्सिजनको मात्रा घट्न थाल्यो भने घरमा थोरै अक्सिजन लगाएर मात्रै माथि ल्याउन सकिँदैन। अस्पतालमा एक पटकमा अलि धेरै अक्सिजन दिन मिल्ने व्यवस्थाहरू छन्,’ उनले भने।

अक्सिजन घट्न नदिन के गर्ने ?

यसको खासै ठूलोउपाय केही पनि नभएको सुवेदी बताउँछन्। ‘सकेसम्म फोक्सो स्वस्थ राख्नुपर्ने हुन्छ। त्यो भनेको पहिले देखिनै तपाईँले तयारी गर्ने हो।

चुरोट खाइ रहनुभएको छ भने छाड्ने। स्वास्थ्यकर बानीबेहोराबाहेक अन्य केही उपाय छैन।’ कतिपयले प्राणायाम, योगका अभ्यास गर्ने गरेको भए पनि त्यससँग सम्बन्धित तथ्याङ्क आफूलाई थाहा नभएकाले उनी आफू केही भन्न सक्ने स्थितिमा नभएको उनको भनाइ छ।

अक्सिजन कम हुन लागेको सङ्केत देखिए सुत्दा घोप्टो पर्नु राम्रो हुने उनको सुझाव छ। ‘गाह्रो भए कोल्टे पर्ने। सकेसम्म उत्तानो परेर नसुत्ने। त्यो विचार गर्न सकिन्छ। त्यसले फाइदा गर्छ भनेर देखाएको छ।

त्यो चाहिँ प्राय अक्सिजन घटिसकेका मान्छेलाई हामी सुझाउँछौँ। अक्सिजन घटेको जस्तो आफूलाई लाग्छ भने त्यस्तो अभ्यास गर्दा हुन्छ,’उनले भने। बीबीसीबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय