जारी टी-ट्‍वान्टी विश्वकप क्रिकेट २०२१ मा भारतले पहिलो जीत हात पारेको छ । गएराती सम्पन्न खेलमा सुपर बाह्रको समूह दुईमा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै दुई अंक जोड्न सफल भएको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङ थालेको भारतले २० ओभरमा दुई विकेट गुमाउँदै २१० रनको विशाल योगफल बनाएको थियो ।

भारतका ओपनरद्वय रोहित शर्माले सर्वाधिक ७४ रन र लोकेस राहुलले ६९ रनको योगदान दिएका थिए । जीतका लागि २११ रनको विजय लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सात विकेट गुमाउँदै १४४ रनमा समेटिएको थियो ।

भारतका तीव्रगतिका बलर महम्मद सामीले तीन विकेट लिएका थिए भने स्पीनर रविचन्द्रन अश्विनले दुई विकेट लिन सफल भएका थिए । जारी टी-ट्‍वान्टी विश्वकपमा भारतको यो पहिलो जीत हो ।

यसअघि भारत पाकिस्तानसँग १० विकेट र न्युजिल्याण्डसँग आठ विकेटले पराजित भएको थियो । यो जीतसँगै भारतको सेमिफाइनलको यात्रामा झिनो आशा देखा परेको छ ।

यसअघि सम्पन्न पहिलो खेलमा भने न्युजिल्याण्डले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै आफ्नो सेमिफाइनलको यात्रालाई बलियो बनाएको छ । आजको खेलमा अष्ट्रेलियाले बंगलादेशसँग दिउँसो ३.४५ बजे प्रतिस्पर्धा गर्दैछ भने वेष्ट इन्डिज र श्रीलंका साँझ ७.४५ बजे आमनेसामने हुँदैछन् ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय