वीरगन्ज, ६ मंसिर । चारदिनसम्म कठोर र शुद्धताका साथ मनाईएको छठ पर्व सम्पन्न भएको छ । शनिबार मिरमिरे बिहानीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको हो ।

शुक्रबार साँझ र शनिबार बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानलगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।

कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् । कतिपय ठाउँमा भने जलाशयमा नै पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् । कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।

वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठको विशेष आकर्षण देखिने गरेको थियो । यस वर्ष अधिकांश छठघाट सजाइएको छैन । छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । विशेषगरी सहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका छन् । नदी, खोला र पोखरीस्थित छठघाटमा ब्रतालुहरु र दर्शनार्थीहरुको भिड विगतको वर्षमा भन्दा कम देखिएको छ । मास्क अनिवार्य भनिए पनि छठघाटमा मास्क नलगाउनेहरुको संख्या पनि बाक्लो छ ।

छठघाटमा मास्क निःशुल्क वितरण गरिएको भएपनि अधिकांशले मास्क नलगाएको पाइएको छ ।कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ । चार दिनसम्म मनाइने लोकपर्व छठ यसपालि पोहोर परारको भन्दा फरक देखियो ।

कोरोना महामारीका कारण यसपालि पोहोर परारको जस्तो रौनक नभए पनि व्रतालुले विधि पूर्वक पूजा आराधना गरेका छन् । सहरी क्षेत्रमा सामूहिक रुपमा छठ मनाउनेहरुले केही स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे पनि ग्रामिण क्षेत्रमा मापदण्ड पालना भएको पाईएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय