नेपाल मेडिकल कलेज मेडिकल शिक्षा र स्वास्थ्यमा कहलिएको संस्था हो । २०५२ सालमा डा. सच्चे कुमार पहारी, डा. अञ्जनी शर्मा, इन्जिनियर दीपक भट्टराई तथा डा. भोला रिजाल लगायतले स्थापना गरेको कलेजले नेपालमा निजी क्षेत्रबाट मेडिकल कलेज पनि चलाउन सकिने रहेछ भन्ने आधार तयार गरेको हो । उल्लेखित मध्ये डा.द्वय पहारी र शर्मा तथा इ. भट्टराईको निधन भइसकेको छ । तर, उनीहरुले जनतालाई सर्वसुलभ स्वास्थ्य शिक्षा दिन देखेको सपना भने पुरा भइरहेको छ । तत्कालिन जोरपाटी गाउँ विकास समिति हाल गोकर्णेश्वर नगरपालिका अत्तरखेलमा अवस्थित कलेजले काठमाडौंका उत्तरपूर्वी क्षेत्रका जनतालाई मात्र गुणस्तरीय स्वास्थ्य सेवा दिएको छैन, काठमाडौंसँग सिमाना जोडिएका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक जस्ता दुर्गम क्षेत्रका जनतालाई समेत गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको छ । यो वाहेक काठमाडौंमा बसोबास गर्ने मध्यम तथा कमजोर आर्थिक अवस्थाका नागरिकलाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको तथ्यलाई नजर अन्दाज गर्न सकिँदैन ।

तर, उत्कृष्ट शैक्षिक संस्थाका रुपमा ‘मानक’ बनाउन सफल कलेज पछिल्लो केही वर्ष यता धर्मरायो । कलेजका सञ्चालकहरु कलेज भन्दा बाहिर सक्रिय रहँदा कलेजको व्यवस्थापन भताभुङ्ग भयो । कोरोना संक्रमणको पहिलो तथा दोश्रो लहरसँगै कलेज धर्मराएपछि सञ्चालकहरुले नयाँ लगानी भित्र्याएर भएपनि कलेजको गुमेको साख फिर्ता ल्याउने गृहकार्य शुरु गरे । विराटनगरको नोवेल मेडिकल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्मा र विरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारी राजधानीमा मेडिकल कलेज सञ्चालनको तयारीमा रहेकाले दुवैले नेपाल मेडिकल कलेजमा प्रवेशका लागि प्रयास गरे तर, अन्तिममा बाजी विरगञ्जका मेडिकल कलेज सञ्चालक अन्सारीले मारे ।

कलेजको ४९ प्रतिशत शेयर खरिद गरी सञ्चालक तथा प्रबन्ध निर्देशक बनेर केही साता अगाडी अत्तरखेल आएका अन्सारीले नेपाल मेडिकल कलेजलाई नेपालकै उत्कृष्ट मेडिकल कलेज बनाउने मात्र उद्घोष गरेका छैनन्, सामान्य सर्वसाधारणले पनि निजी स्वास्थ्य संस्थामा उच्चस्तरीय उपचार गराउन सक्छन् भन्ने नजीर स्थापित गर्न खोज्दैछन् । अन्सारीसँग मेडिकल शिक्षामै अढाई दशक बढी काम गरेको अनुभव भएकाले पनि अब कलेजको स्तरोन्नति हुन्छ, गुमेको साख फर्कन्छ भन्ने आशा पलाएको कलेजमा कार्यरत शिक्षक, कर्मचारी तथा फ्याकल्टीहरुको भनाई छ । प्रस्तुत छ, कलेजका सञ्चालक तथा प्रबन्ध–निर्देशक बसरुद्धिन अन्सारीसँग नेपालको मेडिकल शिक्षा, स्वास्थ्य सेवाको अवस्था तथा कलेजको भावी योजनाका बारेमा गरिएको कुराकानीको संक्षेपः

विरगञ्जमा नेशनल मेडिकल कलेज चलाई रहनु भएको थियो, अकस्मात राजधानी प्रवेश गर्नुको कारण के हो ?

काठमाडौं आउँछु, लगानी गर्छु, गरिब जनताका छोराछोरीलाई गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवा दिन्छु भन्ने मेरो योजना आजको हैन । यसअघि काठमाडौं नेशनल मेडिकल कलेज चलाउन खोजें तर पाइन । जीवनको आधा समय यही पेशामा विताएकोले यसबाट विमुख हुन सकिन ।

फेरी, काठमाडौं संभावनै संभावना भएको क्षेत्र हो । यहाँ स्वास्थ्य र शिक्षामा धेरै काम गर्न सकिन्छ । म नेपालको स्वास्थ्य शिक्षामा भोलीको संभावना र भविष्य देखेर आएको हुँ । स्वास्थ्य शिक्षामा केही नैतिकहिन व्यक्तिहरुको समुह भएकोले तिनलाई देखाउन र नेपालमै गुणस्तरीय स्वास्थ्य शिक्षा दिनुपर्छ, नेपाली विद्यार्थीहरु पढ्नकै लागि विदेश जानु नपरोस्, भनेर आएको हुँ ।

तपाईंसँगै विराटनगरको नोवेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्मा पनि केएमसी मार्फत राजधानी छिर्नुभयो यसमा कुनै अन्तरसम्बन्ध छ ? के संभावना देखेर स्वास्थ्य क्षेत्रमा यत्रो लगानी गर्दै हुनुहुन्छ ?

आज स्वास्थ्य शिक्षा र क्षेत्रमा जुन विकराल अवस्था छ, भोली त्यो रहँदैन । डा. सुनिल शर्मा नेपालको स्वास्थ्य शिक्षामा केही गर्ने जुनुन भएको व्यक्ति हो । पूर्वमा उहाँले गर्नुभएको लगानी, योगदान यो राज्यले गर्न सक्दैन । मैले २५ वर्षदेखि विरगञ्जमा अनेक संघर्ष गरेर त्यहाँका जनता र विद्यार्थीलाई उच्चस्तरीय स्वास्थ्य सेवा र शिक्षा दिइरहेको छु । यसको पुर्ति गर्ने राज्यसँग क्षमता नहोला । हामीसँग यो देशको स्वास्थ्य सेवा र शिक्षालाई परिवर्तन गर्ने भिजन छ । नेपालको स्वास्थ्य सेवा र शिक्षामा दुईचार जना व्यक्तिहरुले चलाएको ‘सिण्डीकेट’ तोड्न काठमाडौं आएका हौं ।

डा. शर्मा र म काठमाडौं आउनुमा अन्तरसम्बन्ध छैन । उहाँ कांग्रेसको मान्छे हो, यसपाली चुनाव जित्नुहुन्छ । सायद म पनि हार्न सक्दिन । यो देशमा कुनैपनि अधिकार र पद्दति बसाल्नु पर्छ भने नीति निर्माण तहमै पुग्नुपर्ने रहेछ ।

राजधानीबासीले गुणस्तरीय स्वास्थ्य सेवा पाएकै छैनन् । एकाध दुई अस्पताललाई मात्रै हेरेर हुँदैन । यहाँका तमाम् गरिब, दुखी कमजोर आर्थिक अवस्थाका जनतालाई पनि हेर्नुपर्छ । बसरुद्धिन अन्सारी नेपाल मेडिकल कलेजमार्फत ती सर्वसाधारणको घर–घरमा पुग्ने भिजनसहित काठमाडौं आएको हो ।

तर, डा. शर्मा र तपाई राजधानी आएको यहाँका धेरैले रुचाइरहेका छैनन् नी ?

स्वास्थ्य र शिक्षामा अब कसैले क्रान्ति ल्याउँछ भने त्यो डा. सुनिल शर्मा र बसरुद्धिन अन्सारीले मात्रै ल्याउँछ । हामी कर्ममा विस्वास गर्ने व्यक्ति भएकाले कर्म गर्न राजधानी छिरेका हौं । हामी यहाँ आउँदा वर्षौंदेखि नेपालको स्वास्थ्य सेवा र शिक्षामा सिण्डिकेट खडा गरिरहेका, मेडिकल एजेण्ट बनेर वर्षेनी हज्जारौं नेपाली विद्यार्थीलाई विदेश पठाइरहेकाहरुलाई मन नपरेको हुन सक्ला । स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा हुनुपर्छ, स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यक्ता भएकोले सर्वसुलभ हुनुपर्छ भन्ने लाखौं जनता हामीसँग छन् । एकाध दुई जनाले आफुले खाइपाई आएको हिस्सा गुम्ने भो भन्ने त्रासले विरोध गर्दा यसलाई अस्वभाविक ठान्दिन ।

हस्पिटलतर्फ सबैथोक भएर पनि व्यवस्थित गर्न नसकिएको हो । घरमा गार्जेन राम्रो भएन भने जुन समस्या हुन्छ, नेपाल मेडिकल कलेजको समस्या त्यही हो ।

तपाईंले नेपाल मेडिकल कलेज नै खरिद गर्नुको कारण चैं के हो ?

सबैभन्दा पुरानो मेडिकल कलेज भएकोले यहाँ नेपालका जतिपनि प्रतिष्ठित चिकित्सकहरु हुनुहुन्छ उहाँहरुको गुडविल छ । यसको राजधानीमा छुट्टै छाप छ । एकेडेमीमा वान अफ द वेस्ट मेडिकल कलेज हो । अलिकता क्लिनिकल साइट तर्फ म्यानेज गर्नुपर्नेछ । यहाँबाट हामीले विद्यार्थी तथा सर्वसाधारण दुवैलाई राम्रो सेवा दिन सक्छौं । नेम र फेम कमाउन सक्छौं । हामीसँग विरामीको कमी छैन । हस्पिटलतर्फ सेवा व्यवस्थित गर्ने हो भने राजधानीका ठुल्ठूला ‘कैंची’ लिएर बसेका संस्थाहरुमा सर्वसाधारण जानु पर्दैन ।

हामीले योजना बनाइसकेका छौं कि, अब नेपाल मेडिकल कलेजबाट सस्तो र सर्वसुलभ दरमा उच्चस्तरीय स्वास्थ्य सेवा दिनेछौं । नेपाल मेडिकल कलेजबाट पैसा कमाउने हाम्रो उद्देश्य छैन ।

अहिले काठमाडौंमा आइसियू र भेन्टिलेटर सबैभन्दा बढी खड्कीएको छ । कोरोना महामारीले हाम्रा स्वास्थ्य संस्थाहरु बलियो हुनुपर्छ भनेर सिकाएको छ । अब यहाँ आइसियू, एनआइसियू, भेन्टिलेटर जस्ता अत्यावश्यक सेवाहरु सूचारु गर्ने योजना छ । मैले विरगञ्जमा आफ्नै नेतृत्वमा १७२ वेडको कोभिड अस्पताल चलाएको अनुभव पनि छ । त्यसलाई प्रयोग गरिन्छ । यो संस्थालाई काठमाडौंकै ठूलो डायलोसिस सेन्टरका रुपमा विस्तार गर्ने मेरो सोच छ ।

नेपाल मेडिकल कलेजको इतिहास राम्रो भएतापनि विचमा के कारणले धर्मराएको रहेछ ?

यहाँका सञ्चालक, लगानीकर्ताहरुले समय दिन सक्नु भएन । उहाँहरु धेरैतिर इङ्गेज्ड हुनुभयो । अलिक कडा शब्दमा भन्नुपर्दा सञ्चालक ज्यूहरु अन्य ठाउँमा अस्पताल चलाएर बस्नु भएको छ । डा. सुनिल यहाँको प्रमोटर उहाँको बुबाले परिकल्पना गरेर संस्था खडा गरेको हो । आनन्द डाक्टर साव् नेपालकै सबैभन्दा ठूलो रेडियोलोजिस्ट, डा. भोला रिजाल दक्षिण एसियाकै उत्कृष्ट गाइनोकोलोजिस्ट हुनुहुन्छ । उहाँहरुले शुरु गरेको संस्थामा उहाँहरु नै नबसी दिँदा संस्थाको व्यवस्थापन कमजोर भएको हो ।

यी व्यक्तित्वहरु अहिलेपनि संस्थामा बस्दिएभने यो संस्था धेरै उचाईमा पुग्ने थियो । मैले उहाँहरुलाई धेरै पटक अनुरोध गरिरहेको छु, आउनु हुन्छ भन्ने आशा छ । नआएपनि भर्खरै डिएम, एमसिएच गरेका एक से एक डाक्टरहरु काठमाडौंमा हुनुहुन्छ । नयाँ टेक्नोलोजी, नयाँ आइडिया बोकेर आएका विशेषज्ञहरु आउनुहुनेछ ।

कलेजको मुख्य कमजोरी कता पट्टी रहेछ ?

मेडिकल शिक्षामा कुनै कमजोरी छैनभन्ने यसको शैक्षिक इतिहासले प्रष्ट पार्दछ । स्वास्थ्य सेवा र व्यवस्थापन पक्षमा केही कमजोरी देखे । हस्पिटलतर्फ सबैथोक भएर पनि व्यवस्थित गर्न नसकिएको हो । घरमा गार्जेन राम्रो भएन भने जुन समस्या हुन्छ, नेपाल मेडिकल कलेजको समस्या त्यही हो । म आएपछि त्यसलाई सुधार्न र सिस्टममा ल्याउन काम गरिरहेको छु ।

शिक्षक, कर्मचारी, फ्याकल्टीहरुमा तादम्यता नभएको देखिएको थियो । नयाँ मेनेजमेन्ट आएपछि के हुने, कस्तो होला भन्ने थियो त्यसलाई संवोधन गरेका छौं । म यहाँका सबै फ्याकल्टी, शिक्षक, कर्मचारीहरुसँग सहकार्य गर्न आएको हुँ । कर्मचारीहरुका समस्या म्यानेजेन्टले संवोधन गर्न सकेन भने असन्तुष्टि बढ्दै जान्छ जसले संस्थाको सिस्टमलाई हानी गर्छ । कर्मचारीका समस्या समाधान गर्न सकारात्मक छौं । सामाजिक सुरक्षा लागू हुन्छ । स्थायी प्रक्रिया, प्रमोसनका कुराहरु लागू गर्न गइरहेका छौं ।

नेपाल मेडिकल कलेजबाट राम्रा नाम चलेका चिकित्सकहरु बाहिरिँदा स्वास्थ्य सेवा कमजोर भएको थियो, त्यसलाई अब कसरी पुर्ति गर्नुुहुन्छ ?

राम्रा नाम चलेकाहरुले आजभोली काम गर्दैनन् । नाम मात्र राखेर मैले के गर्ने ? फेरी राम्रा र नराम्रा कोही डाक्टर हुँदैनन् । जो सेवा र समय दिनसक्छ, जसले विरामीको हेरचाह, उपचार गर्न चाहन्छ उनीहरु अब आउँछन् । ‘ठूला दुकान फिका पकवान’ हामी चाहँदैनौं । हामी कहाँ विरामीहरु जे अपेक्षा लिएर आउँछन् त्यस अनुसार सेवा दिने डाक्टरहरु राख्छौं । स्पेशियालिटी सेवाहरु थप हुन्छ ।

स्पेशियालिटी सेवाहरु थप भएपछि शुल्कहरु पनि बृद्धि होला, आम सर्वसाधारणको पहुँच कसरी पुग्ला ?

यो जनताको मेडिकल कलेज र हस्पीटल हो । शुल्क बढ्ने सवालै छैन, बरु केही सेवाहरु निःशुल्क गर्ने, शुल्क घटाउने योजनामा छौं । यहि दशैंताका जनरल वेड, ओपिडी टिकटहरु निःशुल्क गर्दैछौं । आउँदा दिनहरुमा सेवा बढ्छ । अहिले पनि इमरजेन्सीमा आउने विरामीहरुलाई ‘सबैभन्दा पहिले उपचार शुरु गर्नुहोस अनीमात्र टिकट काट्न लगाउनुस’ भनेको छु । इमरजेन्सीमा आएका विरामीले पैसा तिर्न सक्दैनन् भने अब कलेजले निःशुल्क उपचार गर्छ । नेपाल मेडिकल कलेज धनी र गरिब सबै वर्गकालागि हो ।

यहाँ एउटा ग्रुप छ जसले प्रति विद्यार्थी ५ देखि १० लाख कमिसन लिएर विदेश पठाउने काम गर्छ । तिनीहरुले नेपाल सरकारलाई न कुनै ट्याक्स तिर्छन् न भ्याट ।

यहाँका स्वास्थ्य उपकरणहरु पुराना भएरपनि विरामीहरुले राम्रो सेवा नपाएको गुनासो छ नि ?

त्यहि भएर म आउने वित्तिकै यहाँका मेडिकल उपकरणहरुलाई अब अत्याधुनिक टेक्नोलोजीमा लैजाने निर्णय गरेका छौं । हस्पिटलमा नयाँ उपकरणहरु आउँदैछन् । ३ टेस्लाको एमआरआई, अत्याधुनिक सिटी स्क्यान, ल्यावका नयाँ–नयाँ उपकरणहरु भित्र्याइरहेका छौं । अहिले सबै कुरा डाक्टरहरुले गर्दैनन् उपकरणले गर्छन् । यहाँ आएका विरामीहरुले कुनैपनि ल्याव टेस्ट र डायग्नोस्टिक गर्न बाहिर जानु पर्दैन । बरु बाहीरबाट ल्याव र डायग्नोस्टिकका लागि आउँछन् ।

कम्युनिटी वेसका कार्यक्रमहरु बन्द हुँदा यस भेगका धेरै जनताहरु प्रभावित छन्, स्थानीय तहलाई दिइएको सेवा सुविधाहरु कहिले चालू हुन्छ ?

कोरोना महामारीका कारणले मात्र कम्युनिटी वेसका कार्यक्रमहरु रोकिएको हो । कोर्षमा भएका कुरा रोकिन्न । स्थानीय तहलाई दिइएको सेवाहरु पनि चालु हुन्छ । स्थानीय तहलाई स्वास्थ्य सेवा दिनेतर्फ सहकार्य गर्छौं । विगतमा कलेजले गरेका सामाजिक उत्तरदायित्वका कामहरु अब चाँडै सूचारु हुन्छन् ।

तपाईं २५ वर्षदेखि मेडिकल क्षेत्रमा सक्रिय मान्छे नेपालको बर्तमान स्वास्थ्य सेवा र शिक्षाको अवस्था कस्तो छ ?

७५ वर्ष अगाडी रक्सौलमा डङ्कन अस्पताल स्थापना भयो । नेपालका सबै विरामीहरु त्यहाँ जानुपर्दथ्योे तर, दुई दशकयता भारतका लहेरिया, दरभंगा बाल्मिकी नगर लगायत सिमाक्षेत्रका भारतीय नागरिकहरु नेपालमा उपचारका लागि आउँछन् । हामीले गर्व गर्नुपर्छ नेपालले स्वास्थ्य सेवामा धेरै प्रगति गरेको छ तर, अपुग छ । नेपालमा मेडिकल टुरिजमको अथाह संभावना छ । म नेपालको मेडिकल शिक्षामा गर्व गर्छु । नेपालमा पढेका ८० प्रतिशत चिकित्सकहरुले भारतमा हुने स्क्रीन टेस्ट पास गरेका छन् । बंगलादेश, चीन, थाइलेण्ड जस्ता देशहरुमा पढेका विद्यार्थीहरुको रिजल्ट भन्दा नेपाली विद्यार्थीको रिजल्ट बाटै नेपालको मेडिकल शिक्षा कस्तो छ भन्ने प्रस्ट हुन्छ ।

राज्यले आफ्ना स्वास्थ्य संस्थाहरुलाई बलियो र गुणस्तरीय बनाउने हो भने निजी क्षेत्र आफैं पलायन भइहाल्छ नी !

तरपनि, नेपालको स्वास्थ्य शिक्षा र सेवा सधैं बद्नाम भइरहेको छनी, खासगरी निजी क्षेत्रको लगानी र सेवा ?

हामी भन्छौं ‘घरका मुर्गी दाल बराबर’, दुरका ढोल सुन्न मिठो लाग्छ । अहिले केही व्यक्ति र समुहले नेपालको हेल्थ र एजुकेशनलाई बदनाम गरिरहेका छन् । उनीहरुको मनसाय नेपालका विद्यार्थीलाई जसरी हुन्छ विदेश पठाउँ, पैसा कमाउँ भन्ने छ । यसपाली मात्रै ३८ हजार विद्यार्थीहरु मेडिकल इन्ट्रान्समा सहभागी भए । यो आकर्षण त हामीले दिएको शिक्षाले नै भएको होनी !

तर, राज्यका नीतिका कारण हामी कलेज सञ्चालकहरु मारमा छौं । ३८ हजार मध्ये एमविविएसमा ४२९७ पास भए, ४३ प्रतिशत छात्रबृत्ति कोटामा जान्छ । बाँकी ६७ प्रतिशत विद्यार्थी भनेका करिब १२ सय जति मात्र हो हामीले भर्ना लिन पाउने । बाँकी सबै विद्यार्थी बोराका बोरा पैसा बोकेर विदेश जानुपर्ने बाध्यतामा छन् ।

यहाँ एउटा ग्रुप छ जसले प्रति विद्यार्थी ५ देखि १० लाख कमिसन लिएर विदेश पठाउने काम गर्छ । तिनीहरुले नेपाल सरकारलाई न कुनै ट्याक्स तिर्छन् न भ्याट । बर्षेनी अरबौं रुपैंया विदेश पठाइरहेका छन् । हामीहरुले विद्यार्थी पढाएर, स्वास्थ्य सेवा दिएर मात्रै राज्यलाई वार्षिक २५ करोड ट्याक्स तिरी रहेका छौं । लाखौं जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेका छौं ।

आज नेपाली विद्यार्थीले नर्सिङमा भर्ना पाएका छैनन्, सरकार आफैं लागेर धमाधम नर्सिङ कलेजहरु बन्द गराउँदैछ । विद्यार्थीहरु लाखौं खर्च गरेर नर्सिङ गर्न विदेशीइरहेका छन् । मत भन्छु हरेक नेपाली छोरीहरुलाई नर्स बनाउँ । युरोप, अमेरिका, बेलायत जस्ता देशमा नेपाली नर्सहरुको माग छ । उच्चस्तरको जीवन विताएर महिनाको लाखौं कमाउँछन् । खै त्यता ध्यान गएको ?

यहाँका दुई चार जना व्यक्तिले नेपालका मेडिकल कलेज र नर्सिङ कलेजहरु बन्द गराएर नेपाली विद्यार्थीहरुलाई साउथ इण्डियन कलेजमा लैजाने नियत राखेका छन् । अस्ति २२ वटा नर्सिङ बन्द गर्ने निर्णय गरे । ९० वटा पिसिएल नर्सिङ बन्द गर्ने सड्यन्त्र गरिरहेका छन् । यी नैतिकता हिन व्यक्तिहरुले बसका बस नेपाली विद्यार्थीलाई दक्षिण भारतका नर्सिङ कलेजमा विद्यार्थी ओसार्दैछन् । जसको न कुनै कलेज छ, न कुनै हस्पिटल छ । यस्ता कलेजहरुमा पढेका विद्यार्थीहरु भोली कसरी विरामीको सेवा गर्न सक्छन् ?

विदेशी मेडिकल कलेज, त्यहाँको पढाई पनि हामीले नदेखेका होइनौं । बाहिरबाट पढेर आएकाहरुले मेडिकल काउन्सीलको परीक्षा पास गरेको देख्नुभएन ?, त्यसकारण ‘घरकी मुर्गी दाल बराबर’ जस्तो निजी क्षेत्रको लगानी, योगदानलाई अवहेलना गर्न पाइँदैन । निजी मेडिकल कलेज नभइदिएको भए नेपालको स्वास्थ्य शिक्षाको हालत के हुन्छ ? सबैले नजरअन्दाज गरुन् ।

भनेपछि नेपालको स्वास्थ्य शिक्षामा सरकारले केही गरेन ?

राज्यले केही गरेन भनेको हैन । निजी क्षेत्र प्रतिको निती चैं गलत भयो । कि त पहिले नै शिक्षा र स्वास्थ्य निजीलाई नदिने भनेर निती बनाउनु पर्दथ्यो । ‘भात पकाएर अगाडी राख्दिने अनी खान पाउँदैनस्’ भनेर हुन्छ ?

राज्यले आफ्ना स्वास्थ्य संस्थाहरुलाई बलियो र गुणस्तरीय बनाउने हो भने निजी क्षेत्र आफैं पलायन भइहाल्छ नी ! सरकारी अस्पताल र शिक्षण संस्थाको गुणस्तर हामीले भनिरहनु पर्छ र ? नेपाल एयरलाइन्सबाट सिमरा जान २ हजारको टिकट काट्नुपर्छ, बुद्ध, यति एयरलाइन्सले ३ हजार लिन्छन् तैपनि यात्रुहरु किन बुद्ध र यति नै रोज्छन् ? नेपालको स्वास्थ्य क्षेत्र पनि त्यस्तै अवस्थामा छ ।

अर्को, हामीले राजगारी दिएको कुरा पनि नविर्सौं । एउटा मेडिकल कलेजले कम्तिमा १ हजार जनालाई रोजगारी दिएको छ । साँढे सात सय वेडको अस्पताल सेवा दिएको छ । कोरोना संक्रमणमा २५ प्रतिशत संक्रमित सरकारी अस्पताल जाँदा धान्न सकेन । प्राइभेट सेक्टरमा यो बसरुद्धिनले ४६५ विरामीलाई एक्लै व्यवस्थापन गरेर देखाइदियो । तैपनि प्राइभेट सेक्टरलाई एउटा सम्मानपत्र समेत दिन सक्दैन यो राज्य । यस्ता कुरा गर्दा २ रात लाग्छ ।

नेपालको अर्थतन्त्र, स्वास्थ्य र शिक्षाको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ तर, राज्यले हेर्न सकेन । निजी क्षेत्रलाई राज्यले जति उपेक्षा गर्छ उति अर्थतन्त्र धरासायी हुन्छ । आज चीन निजी क्षेत्रसँगको सहकार्यबाटै अगाडी बढेको होे । बर्मामा राज्य नै लागेर व्यापारीलाई लखेट्ने काम गरे आज त्यसको अर्थतन्त्र हेर्नुहोस् । त्यसकारण निजी क्षेत्रको लगानीलाई राज्यले नजर अन्दाज गर्नु हुँदैन । प्रोत्साहन र संरक्षण गर्दै सँगसँगै लैजानु पर्छ । जनता धनी भएपछि न देश धनी हुन्छ । साभार एक्सन खबर डट कम बाट लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय